बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरू नडराउन आग्रह गरेका छन् ।
बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरू युट्युब र टिकटकमा आउने गरेको बताए ।
उनले भने, ‘टेलिभिजनहरू युट्युब, टिकटक,फेसबुक आदिसँग तर्सिएको देख्छु । उनीहरूले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्,तिनीहरू व्यक्तिगत ढङ्गले चलेका हुन् टेलिभिजनहरू टिमवर्कमा चलेका हुन्छन्, सामूहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउन हुँदैन ।’
विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको र नेपालमा १९८५ देखि श्याम श्वेत टेलिभिजन प्रसारण सुरु भएको उल्लेख गर्दै ओलीले बदलिँदो समय अनुसार नयाँ प्रविधिको प्रयोग गरे सञ्चार माध्यमको प्रभावकारिता बढ्ने सुझाव दिए ।
२०४६ को परिवर्तनपछि सञ्चार जगतले व्यापकता लिएको उल्लेख गर्दै ओलीले ग्यालेक्सी प्रविधि अझै नेपालमा आई नसकेको बताए ।