काठमाडौँ- नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकले बारा- २, तनहुँ- १ र चितवन- २ का लागि उम्मेदवारको टुङ्गो लगाएको हो।
बैठको निर्णय अनुसार पार्टीले चितवन- २ मा पार्टीको जिल्ला सभापतिसमेत रहेका जीतनारायण श्रेष्ठ र तनहुँ- १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। यस्तै, पार्टीले बारा- २ मा जनता सामाजवादी पार्टी(जसपा)का उपेन्द्र यादवलाई छाड्ने निर्णय गरेको छ।
चितवन- २ मा यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। यस्तै, बारा- २ मा रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। जसपाबाट उम्मेदवारी दिएर विजयी भएका उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
यसैगरी, तनहुँ- १ मा रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसबाट विजयी भएका उनी राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।