धनगढीः गत आमनिर्वाचनमा एकाएक ७ प्रत्यक्ष र १३ समानुपातिक सिट जितेर संसदको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको गतिविधि सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले दोहोरो नागरिकता काण्डमा दोषी ठहर गरेपछि ठप्पप्रायः छ।
अदालतको फैसलाबाट एकैपटक गृहमन्त्री, सांसद, पार्टी सभापति र संसदीय दलको जिम्मेवारीबाट विमुख भएपछि पार्टीका अन्य मन्त्रीलाई समेत उनले सरकारबाट फिर्ता बोलाएका थिए। अहिले उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ को आगामी उपनिर्वाचनमा होमिएका छन्। आफ्नै काण्डले रिक्त भएको क्षेत्रमा उनी पुनः उठ्दैछन्।
यसबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको उक्त पार्टीभित्र असन्तुष्टि भुसको आगोझैँ सल्किएको बताइन्छ। आफ्नो अनुपस्थितिमा १९ जना सांसदमध्ये कसैलाई पनि मन्त्री बनाउन तयार नभएका उनले यसबीच पुनः गैर सांसदको तर्फबाट मन्त्री हुन पहल गरेको बालुवाटार स्रोतको दाबी छ।
प्रधानमन्त्रीले उनको अनुरोधलाई गैर सांसदलाई मन्त्री नबनाउने सन्दर्भ उल्लेख गर्दै अस्वीकार गरेपछि रास्वपाभित्रबाट असन्तुष्टिको गन्ध बाहिर आएको हो। ‘छ महिनासम्म सांसद नभए पनि मन्त्री हुन पाइन्छ। म अरु साथीहरुलाई भन्छु। मेरै कारणले पार्टीले २० सिट जितेको हो। मैले भनेपछि उनीहरुले मान्छन्। मै सरकारमा नजाने हो भने अरुलाई किन पठाउँछु ?,’ प्रधानमन्त्री दाहालसँगको कुराकानीमा रविको दावी उल्लेख गर्दै स्रोतले भन्यो।
अर्कोतर्फ रविका अरु सांसदलेसमेत यसबीच प्रधानमन्त्रीसँग बालुवाटारमा भएको भेटमा मन्त्री नियुक्तिबारे कुरो उठाएको बताइन्छ। ‘रविले मचाहिँ बाहिर बस्ने ? म जान पाउने हो भने ठीक छ। होइन भने कोही पनि नजाने,’ भनेर दिएको अभिव्यक्ति बालुवाटारमा सुनेपछि रास्वपाका सांसदहरुमध्ये अधिकांशले तिरिमिरी महसुस गरेका हुन्। स्वयम् रविसँग अति निकटस्थको रुपमा चिनिएका सांसदहरुले भने बालुवाटारले पार्टीभित्र अस्वस्थ खेल खेलेको आरोप लगाएका छन्।