धनगढीः नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले पार्टीमा आफ्नो कुनै पनि गुट नरहेको बताएका छन्। आज (सोमवार) कैलालीस्थित धनगढीमा आयोजित नेकपा माओवादीको सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले आफूले कहिल्यै पनि पार्टीमा गुट नबनाएको र कुनै गुटमा नलागेको बताएका हुन्।
यस्तै नेता शर्माले नेकपा माओवादी केन्द्रमा पछिल्लो समय गुटगत प्रवृत्ति बढेको र पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्ने बताए। पार्टीभित्रको गुटगत प्रवृतिले पार्टीमा समस्या निम्तिएको उल्लेख गर्दै माथिल्लो कमिटीबाटै गुट अन्त्यको सुरुवात गरिनुपर्ने उनले बताए।
‘गुट माथिबाटै भत्काउन सुरु गर्ने र तल पनि बाँकी नराख्ने कुरा सँगसँगै लैजानुपर्छ,’ माओवादीको संगठन विभाग प्रमुखसमेत रहेका शर्माले भने, ‘मैले कहिल्यै पनि गुट बनाइन्, म कसैको गुटमा लागेको पनि छैन। म त एकतावद्ध भएर पार्टी बनाऔँ। होइन, भने पार्टीको भविष्य छैन भनेर भन्ने मान्छे हो। यो कुरा मैले नेताहरुलाई पनि भनेको छु।’ गुट अन्त्यका लागि विधिलाई बलियो बनाएर लैजानुपर्ने उनको जिकिर छ।
त्यस्तै पार्टीमा विधि नहुँदा गुट तथा उपगुट बढेको र गुटगत प्रवृती हाबी भएको उनले दाबी गरे। विधि कायम भए गुटउपगुट त्यस्सै सकिएर जाने उनले बताए। उनले पार्टीको माथिल्लो भन्दा तल्लो तहमा बढी गुटगत मानसिकता देखिएको भन्दै असन्तुष्टिसमेत प्रकट गरेका थिए।
माओवादी केन्द्रीय संगठन विभागको प्रस्तावमा माओवादी सुदूरपश्चिम प्रदेश कमिटीले आज धनगढीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला अध्यक्ष, जनवर्गीय संगठनका प्रमुखलगायत अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो।