काठमाडौं – नेपाली सेनाका पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाले सत्तारुढ नेकपा एकिकुत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
नेपालले आइतबार नेकपा एसनिकट समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक समापनका अवसरमा बोल्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापतिसँग धेरै पटक बसेर गोप्य कुराकानी गरेको र बङ्गलादेशको मोडलमा चुनाव गराएर सत्ता कब्जा गर्ने षडयन्त्र गरेको सूचना सरकारी एजेन्सीहरूबाट आफूहरूले थाहा पाएको बताएका थिए ।
नेपालले राष्ट्रपति र प्रधानसेनापतिसँग धेरै पटक गोप्य कुराकानी गरेको र चोलेन्द्र शमसेरसँग मिलेर अदालत कब्जामा लिन खोजेको बताएका थिए । नेपालले सरकारी एजेन्सीबाट ओलीको दिमागमा के चलिरहेको थियो भन्ने सूचना पाएपछि यो सरकारले त्यसलाई असफल पारेको बताएका थिए ।
नेपालको अभिव्यक्तिप्रति नेपाली सेनासमेत गम्भीर भएको उच्च अधिकारीहरूले बताएका छन् । ओली प्रधानमन्त्री भएका बेलाका सेनापति थापाले भने नेपालको भनाइ निराधार र आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् ।
थापाले भने, ‘मेरो स्वभाव पनि सबैलाई थाहा छ । उहाँले जुन अभिव्यक्ति दिनुभएको छ त्यो टोटल्ली फल्स छ । यस्ता कुराको कुनै जस्टिफिकेसन छैन । राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूसँग म त्यसरी कहिल्यै बसिँन र मलाई तत्कालीन सरकार वा प्रधानमन्त्रीले कहिल्यै त्यसो भन्नु पनि भएन । यो कुरा किन र कुन उद्देश्यले आएको हो जिम्मेवार व्यक्तिहरूले नेपाली सेनालाई यसरी विवादमा तान्न हुँदैन ।’