काठमाडौँ- सांसद गगन थापाले सरकारको न्यूनतम साझा कार्यक्रम संसद्मा प्रस्तुत गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका सांसद थापाले सरकारका नीति तथा कार्यक्रमहरू सदन चलिरहेका बेला संसद्मा प्रस्तुत गर्ने अनिवार्य अभ्यासका रुपमा स्थापित गर्नुपर्ने बताए ।
“सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सदनमा प्रस्तुत हुनुपथ्र्यो भनेर आवाज उठेको छ । म पनि त्यही भन्छु,” थापाले भने, “हिजो पनि यसरी नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएर संसद्मा जानकारी गराइएको थिएन । हामीले गलत भयो भन्दा साथीहरूले हैन ठिक थियो भन्नुभयो । अहिले हामी सत्ता पक्षकाहरूले त्यो कुरा ठिक थियो भन्नु हुँदैन । संसद्मा त्यसलाई प्रस्तुत गर्नुपर्छ ।”
उनले संसद् चलिरहेको अवस्थामा यस्ता ‘डकुमेन्ट’हरू संसद्मा प्रस्तुत गर्ने अभ्यास स्थापित गर्नुपर्ने बताए । थापाले सरकारको न्यूनतम साझा कार्यक्रममा धेरै कुरा समेटिएको भन्दै केही कमीकमजोरी पनि रहेकाले त्यसलाई सुधार गर्दै कार्यान्वयन गर्नुपर्ने बताए ।