काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि जारी रहने छ। शुक्रबारदेखि सुरु भएको बैठक आज अपरान्ह तीन बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसमा यतिखेर आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सम्बन्धमा बहस जारी छ। बैठकमा चुनावी तालमेल गर्नुपर्ने र निर्वाचनमा एक्लै जानुपर्ने सम्बन्धमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त राखिरहेका छन्। हिजो तेस्रो दिनसम्मको बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्यले आफ्नो धारणा व्यक्त गर्ने क्रम सम्पन्न भएको छ।
बैठकमा चुनावी तालमेलका साथै निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने, निर्वाचनको तयारीका लागि पार्टीले सञ्चालन गरिरहेको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समीक्षालगायत विषयमा छलफल भएको थियो।
बैठकमा अधिकांशले लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि विशिष्ट परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार चुनावी तालमेल गर्दा उपयुक्त हुने धारणा राखेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।
स्थानीयस्तरमा पार्टीको अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जाँदा पार्टी मजबुत हुने र आगामी संसदीय निर्वाचनमा पनि पार्टीले जित्ने धेरैको सुझाव आएको प्रवक्ता महतले जानकारी दिए।