धनगढीः स्थापनाको छोटो समयमै नागरिक उन्मुक्ति पार्टीभित्र आन्तरिक असन्तुष्टि बढ्दै गएको छ। पार्टी कैलाली केन्द्रीत भएको, त्यहीँका नेताहरुलाई मात्र अवसर दिएको र अन्यत्रकालाई किनारा पारिएको भन्दै बिवाद छताछुल्ल हुन थालेको छ।
पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको, संरक्षक रेशम चौधरी र अध्यक्षसमेत रहेकी उनकी पत्नी रञ्जिता श्रेष्ठको हालिमुहाली चलिरहेको भन्दै लामो समयदेखि असन्तुष्ट नेता सुरेन्द्र चौधरीले पार्टी छाडेको घोषणा गरेको केहीँ दिनपछि उनलाई कारबाही गरेको उक्त पार्टीले जनाएको छ।
नेता चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी त्यागको घोषणा गरेका थिए। त्यसपछि पार्टी हितविपरीत काम गरेको भन्दै उन्मुक्तिले चौधरीलाई कारबाही गरेको जनाएको छ।
पार्टी हितविपरीत काम गरेकाले चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको सो पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए। नेता चौधरी नागरिक उन्मुक्ति पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राखिरहेका थिए।
उनले समाजवादी नागरिक उन्मुक्ति पार्टी दर्ता गर्ने तयारी गरेको समाचार बाहिरिएको थियो। शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि अरू छलफलभन्दा केन्द्रीय नेता चौधरीले पार्टी परित्याग गरेको घोषणाले चर्चा पाएको थियो।
राजनीतिक समितिका संयोजक समेत रहेका चौधरीले सामाजिक सञ्जाल फेसबुकमा भनेका थिए, ‘आजबाट नागरिक उन्मुक्ति पार्टीबाट औपचारिक रूपमा अलग भएको जानकारी गराउँदछु। नयाँ राजनीतिक यात्राको लागि सबै जिल्लाका नेता तथा अभियन्ताहरूसँग छलफलको लागि मेची महाकाली यात्रामा भेट हुने नै छ।’
उत्तरदायी, समावेशी, सहभागितामूलक लोकतन्त्रको लक्ष्य र ध्येयको लागि नयाँ शिराबाट राजनीतिक यात्राको लागि तयार रहन भन्दै सम्पूर्ण शुभचिन्तक अभियन्ता, नेताहरूमा उनले अपिल समेत गरेका थिए।
पार्टी छाड्नु एक दिन पहिले बिहीबार चौधरीले नागरिक उन्मुक्ति पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित, उपाध्यक्षद्वयमा लक्ष्मणकिशोर जोगेठ्वा थारु तथा हिमाञ्चल भट्टराई नियुक्त भएकोमा बधाई दिएका थिए। यी तीनैजना कैलाली निवासी हुन्।
चौधरी पार्टी कैलालीमै सीमित भयो भन्ने गुनासो गर्दै आएका थिए। उनले आफूले अन्य जिल्लाबाट विभिन्न दलका वरिष्ठ नेताहरूलाई नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गराएकोमा कुनै जिम्मेवारी नदिएको गुनासो गर्दै आएको एक केन्द्रीय सदस्यले बताए।
यसका साथै राजनीतिक समितिको संयोजक भएको नाताले अन्य दलसँग सहकार्य, समन्वयको जिम्मेवारी आफ्नो भएको उनको भनाई थियो। तर पार्टी संरक्षक चौधरीले पार्टी अध्यक्ष श्रेष्ठलाई समेत थाहै नदिई आफूलाई भूमिकाविहीन बनाएको प्रसंग उनले बेला बेलामा सामाजिक सञ्जाल फेसबुकमा उठाउँदै आएका थिए।
नागरिक उन्मुक्ति पार्टीबाट चौधरी संघीय चुनावमा दाङ–१ बाट उम्मेदवार भएका थिए। चुनावमा बर्दिया–३ बाट उम्मेदवार भएका ठाकुरसिंह थारुले पनि पार्टी त्याग्दै गरेको भन्दै समाचार प्रकाशित भएको थियो। थारुले उक्त समाचारको भने खण्डन गरेका छन्।
‘मेरो विषयमा प्रकाशित समाचार कलोकल्पित र भ्रामक छ,’ केन्द्रीय सदस्य थारुले हिजो भनेका थिए, ‘सुरेन्द्र चौधरी जी पनि पार्टीमै रहनुपर्छ, बिवाद पहिल्याएर समाधानतर्फ जानुपर्छ भनेर मैले संरक्षक रेशम चौधरीसँग पनि कुरा राखेको छु।’
उनले यो बिवादमा मध्यस्थकर्ताको भुमिका निर्वाह गरिरहेका थिए। तर उनको अभिव्यक्ति आएको दोस्रो दिन पार्टीले नेता चौधरीलाई कारबाही गरेको समाचार सार्बजनिक भएको छ।
स्रोतका अनुसार चौधरीको समूहले समाजवादी नागरिक उन्मुक्ति पार्टी दर्ता गर्ने तयारी अघि बढाएको छ। संघीय चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–४ उम्मेदवारीको चाहना राखेको तर नपाएपछि पार्टी परित्याग गरेका राजाराम चौधरी भन्छन्, ‘योग्य र सक्षम व्यक्तिको कदर हुन नसक्नु नेपालको राजनीतिमा सामान्य जस्तै भैसकेको छ। यो उन्मुक्ति ओरालो लागेको संकेत हो।’