काठमाडौं – नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुादे प्रस्ताव पठाउदै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो । बिदाका दिन सवारीसाधनको प्रयोग कम भई तेलको खपत घट्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
त्यस्तै निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ । जोर बिजोर प्रणाली हुदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ । निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ । पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको छ ।
यस्तै इन्धन खरिदको भुक्तानी गर्न निगमलाई आवश्यक पर्ने थप रकम जोहोको व्यवस्था गर्न, बढेर आएकै मूल्य बराबरमा मूल्य बढाउनु पाउनु पर्ने तथा सबै प्रकारका सवारी साधनहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिने व्यवस्था गर्न पनि माग गरिएको छ ।
रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर माथि कारोबार भइरहेको छ । पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्न, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वानको प्रस्ताव निगमले गरेको छ ।