धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३८ वर्षीय वाशुदेव जोशीको हत्यामा संलग्नको पहिचान भइसकेको प्रहरीले जनाएको छ। गाउँकै एक जना युवाले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो हतियारले घाँटी रेटेर जोशीको हत्या गरेको प्रहरीले जनाएको हो।
घर नजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले घटनामा संलग्न ब्यक्तिको परिचय खुलिसकेको र खोजिकार्य भइरहेको बताए।
‘घटनास्थलमा एक युवालाई देखेको प्रत्यक्षदर्शीले बताएका छन्,’ शाहीले भने, ‘घटनापछि ती युवा फरार छन्, खोजी गरिरहेका छौँ।’ बिष्ट थरका ती युवाले बाटो ढुकेर जोशीको हत्या गरेको प्रहरीले दाबी गरेको छ।
हत्या घटनामा अन्य केही जना समेत संलग्न रहेको हुनसक्ने अनुमान प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।