काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्र निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै केसीले पूर्व गृहमन्त्री रवि लामिछानेले सार्वजनिक खरिद ऐन विपरीत ७ दिनको बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिएको समाचार सार्वजनिक भएको विषय उठाउँदै आपत्ति जनाएका हुन् ।
उनले भने- ‘ देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन । जुनसुकै आवरणमा प्रकट भए पनि यस्ता प्रवृत्तिलाई कानुनी संपरीक्षणमा ल्याउनु वाञ्छनीय हुन्छ ।’
उनले अगाडी भने- ‘पुराना पार्टीहरुले नै गल्ति कमजोरी गरेका थिए, आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउने गरेका थिए, नयाँ आएका पार्टीले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनताले हेरेका थिए, खास्टाले धोपेको विरालो छिट्टै म्याउ गर्यो त्यसकारणले यस्ता प्रवृतिलाई त्यसै छोड्न हुदैन ।’