काठमाडौँ- बाहिर रूख–रूख भन्दै हिँड्ने र भित्रभित्र दायाँ-बायाँ गर्ने छुट कुनै पनि कांग्रेस कार्यकर्तालाई नभएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीमै रहेको व्यक्तिले चुनावको बेलामा पार्टीलाई धोका दिएमा पाप लाग्ने समेत बताए । उनले कांग्रेस एकजुट हुनुपर्ने बेला आएकोमा समेत जोड दिए ।
चितवन-२ को उपनिर्वाचनमा कांग्रेसका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ गठबन्धन दलको साझा उम्मेदवार छन् । उनकै पक्षमा भोट माग्न भरतपुर पुगेका थापाले आफू पनि भगवानमा विश्वास गर्ने मान्छे भएकोले कांग्रेस नेता कार्यकर्ताले पाप धर्म सम्झेर मत दिनसमेत आग्रह गरे ।
‘मलाई विश्वास छ तपाईंहरू पनि धार्मिक हुनुहुन्छ । खुलेर लाग्नुभएको छ भने तपाईंहरूको निर्णय हो । तर, बाहिर बाहिर गर्छु भित्र भित्र गर्दिनँ भन्न मिल्दैन’ उनले भने–‘मनमा जसको हरि छ, अरूले नदेखे पनि हरिले देखेको हुन्छ । बाहिर रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन् भन्ने ठान्नुपर्छ ।’
राजनीति दलको कार्यकर्ता भइसकेपछि पार्टीको कुरा पार्टीमा छलफल र बहस गर्नुपर्ने पनि उनको भनाइ थियो। ‘चुनावमा आइसकेपछि तलमाथि गर्न मिल्दैन । सिंगो पार्टी नै बदल्नुछ । कांग्रेसलाई नयाँ बनाएर छाड्ने हो’ उनले भने–‘पार्टीसँग, नेताहरूसँग तमाम असन्तुष्टि होलान् । यथोचित समयमा बसेर छलफल गरौंला ।’
उनले कांग्रेससँग असन्तुष्ट रहेका हिजोका बागी उम्मेदवार र तीनका सहयोगीको मतसमेत यसपटक जितनारायणलाई जानेमा आफू विश्वस्त रहेको समेत बताए । थापाले भने–‘तपाईंसँग जे असन्तुष्टि छ त्यो पछि छलफल गरौंला अहिलेलाई रूखमा भोट दिनुस् ।’