काठमाडौंः उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय बासिन्दालाई सुरक्षा निकायको कमाण्डर बनाउने अथवा नबनाउने विषयमा छलफल गरिने बताएका छन्। आज गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
पछिल्लो समय स्थानीय प्रहरी अधिकारीहरुले कमाण्ड सम्हालिरहेको अवस्थामा समस्या पैदा भएको विषयलाई लिएर सञ्चारकर्मीले प्रश्न गरेपछि उनले यसमा आफ्नो ध्यानाकर्षण भएको बताए। उनले भने, ‘स्थानीयलाई नै सुरक्षा निकायको कमाण्ड दिने कि नदिने भन्ने विषयमा मैले नोट गरेको छु। यसलाई हामी सिरियसली लिएर छलफल गर्छौ।’
विशेषगरी सुदूरपश्चिममा स्थानीय नागरिकसमेत रहेका प्रहरी अधिकारीहरु सुरक्षा निकायको कमाण्डर छन्। अहिले पनि प्रदेश प्रहरीको हाकिम अर्थात् निमित्त डिआइजीको रुपमा अछामका भरत बोहरा, एसएसपी योगबहादुर पाल छन्। यस्तै कैलाली प्रहरीको प्रमुख पनि सुदूरपश्चिममै घर भएका देबेन्द्र पाल रहेका छन्। यस्तै अन्य अधिकांश जिल्लाहरुमा पनि स्थानीय नै प्रहरी प्रमुख भएर कार्यरत छन्।