धनगढीः नेपाली कांग्रेसकी नेत्री तथा प्रतिनीधि सभा सदस्य डा आरजु राणा देउवाले सुदूरपश्चिम काठमाडौंबाट सुदूर भए पनि सनातन धर्म, संस्कृति, सभ्यताका हिसावले केन्द्रमा रहेको बताएकी छन्। तीन दिने मानसखण्ड सम्मेलन समापन कार्यक्रममा उनले सो कुरा बताएकी हुन्। मानसखण्डको ठूलो महत्व रहेको चर्चा गर्दै यस क्षेत्रको विकासमा मानसखण्डको भूमिका रहने विश्वास उनले व्यक्त गरिन्।
मानसखण्ड (सुदूरपश्चिम) को धर्म, संस्कृतिलाई जोगाएर धार्मिक पर्यटकीय क्षेत्रको प्रचार गरेर, व्यवस्थित गरेर आर्थिक समृद्धि ल्याउन सकिने धारणा राखिन्। उनले सुदूरपश्चिममा जस्तो धेरै जात्रा अन्यत्र कतै नभएको भन्दै यसको फाइदा लिनुपर्ने बताइन्।
नेत्री राणाले प्रदेश सरकारले मानसखण्ड क्षेत्रलाई जोगाउन र समृद्ध सुदूरपश्चिम प्रदेश बनाउन विशेष बजेटको व्यवस्था गर्नुपर्ने धारणा राखिन्। विगतको तुलनामा सुदूरपश्चिममा ठूलो परिवर्तन भएको उनको भनाइ छ ।
“२८ वर्ष अगाडि यहाँ आउँदा निक्कै पछाडि परेको अवस्था थियो, अहिले धनगढीको सडक नै काठमाडौंभन्दा राम्रो बनेको छ” उनले भनिन्। यहाँका नागरिकहरु पैसा कमाउन खाडी र भारतको सहरमा जानु दुःखद भएको भन्दै उहाँले नागरिकका लागि यही क्षेत्रमा रोजगारको व्यवस्था गर्न आवश्यक रहेको बताइन्।
मानसखण्ड क्षेत्रका जानकार आचार्य घनश्यामका अनुसार महाकाली र कर्णाली नदीको बीच भागमा पर्ने भागलाई मानसखण्ड भनिन्छ। यो क्षेत्रमा ४० हजारभन्दा बढी तीर्थस्थल छन्।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मानसखण्ड क्षेत्र भारत–नेपाललाई जोड्ने पुल बन्ने बताउँदै यो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्ने धारणा राखे। भारत–नेपाल जोड्न काली नदीमा पुल बनिरहेको चर्चा गर्दै उनले पुलले भूगोल जोड्ने काम गर्ने विश्वास व्यक्त गरे। राजदूत श्रीवास्तवले दुई वर्षभित्र नै कञ्चनपुरको दोधारा चाँदनीस्थित सुख्खा बन्दरगाहा सञ्चालनमा आउने गरी काम भइरहेको बताए।
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालले महाभारत र रामायण सर्किटले भारत–नेपालको सम्बन्ध दर्शाउने संकेत गर्दै सांस्कृतिक एकता र सद्भावका लागि मानसखण्ड क्षेत्रको ठूलो महत्व रहेको चर्चा गरे।