काठमाडौँ -भक्तपुरको जगातीबाट हिजो (शुक्रबार) गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण व्युरो र प्रहरी प्रहरी वृत्त जगातीको संयुक्त टोलीले शुक्रबार बेलुकी २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जनाले लागुपदार्थ सेवन गरेको पाइएको थियो ।
बा २ क ६३४५ नम्बरको टिपरका चालक स्याङ्जाको गल्याङ नगरपालिका ९ का २९ वर्षीय कुसुम थापा, बा २ क ६३ ४४ नम्बरको टिपरका चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ भुस्कोटका २८ वर्षीय तारा बहादुर तामाङ र ना २८ प ६३३३ नम्बरको मोटरसाइकलका चालक काठमाडौँको तार्केश्वर नगरपालिका ५ गोलढुंगा बस्ने ३० वर्षीय रोहित तामाङलाई
प्रहरीले नियन्त्रणमा लिएको हो ।
लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका ३ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ । उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए तापनि पछिल्लो समय लागुऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालकहरू भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तिव्रताका साथ अगाडी बढाइएको छ । मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने गर्दछ ।
सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।