धनगढीः दार्चुलास्थित महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। आज (शनिवार) दिउँसो बेपत्ता भएका ब्याँस गाउपालिका–२ तल्लो दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारीको शव फेला परेको हो। महाकाली नदी पारी भारततर्फ उनको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका एसपी श्याम चौधरीले जानकारी दिए। आधा घण्टाको दुरीमा सिङ्दलसिंहको शव फेला परेको उनले बताए।
उनका अनुसार महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन्। उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै थिइन्। नेपालतर्फ सडक सुविधा नहुँदा सो ठाउँका स्थानीय भारतीय सडक प्रयोग गर्दै वारपार हुने गर्दछन्।
‘जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरा सिङ्दलसिंहलाई बोलाएको जानकारीमा आएको छ’, एसपी चौधरीले भने, ‘तुइन प्रयोग गर्ने क्रममा उनी महाकालीमा बगेको आशंका गरिएको छ।’
सिङ्दलसिंहको शव भारतीय भू–भागमा फेला परेको हो। सोही कारण भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताइएको छ।
मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी रहेकी छन्। उनकी श्रीमतीको भने चार वर्ष अघि निधन भएको थियो। सीमा क्षेत्रमा रहेको महाकाली नदीमा यसअघि पनि मानिसहरू खसेर दुर्घटना हुने गरेका छन्।
यसअघि अघिल्लो साल दार्चुलामा पुस २१ गते व्यास गाउँपालिका–४ डोकटका स्थानीय १० वर्षीय बालक दीपक बिष्ट पनि तुइनबाट खसेर महाकालीमा बगेका थिए। उनको अहिलेसम्म शव फेला परेको छैन। त्यसअघि २०७८ साउन १५ मा पनि भारतीय सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि व्यास–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए। उनको पनि लास अहिलेसम्म फेला परेको छैन।