कञ्चनपुर: कञ्चनपुरमा महिलाको हत्या गरेको नरभक्षी बाघलाई सबैले हेर्न पाउने भएका छन् । नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले जानकारी दिए ।
उनले आफूहरुसँग खोरमा राख्न पर्याप्त स्रोत साधन नभएको र बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिने बताए ।
शुक्रबार उक्त बाघले बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया गङ्गा चन्दलाई आक्रमण गरी मारेको थियो । चन्दसँगै घाँस काट्न गएका अन्य चार–पाँच महिलाले भागेर ज्यान जोगाएका थिए।
बाघलाई नियन्त्रणमा लिन बर्दियाबाट बाघविज्ञ डा दिनेश देवकोटा नेतृत्वको टोलीले शनिबार बिहान बाघ नियन्त्रणमा लिएको थियो।
Facebook Comments Box