धनगढीः बैतडीको सुर्नया गाउँपालिकाले आज (आइतवार) एक हास्यासपद विज्ञप्ती जारी गरेको पाइएको छ। गाउँपालिकाका प्रवक्ता प्रताप महराले उक्त विज्ञप्ती जारी गरेका हुन्।
विज्ञप्तीमा भनिएको छ, ‘यस सुर्नया गाउँपालिकामा मिति २०७९/०९/१० गतेको कार्यपालिकाको निर्णय बमोजिम अध्यक्ष र उपाध्यक्ष ज्युको स्वकिय सचिव नियुक्त गरिएको सन्दर्भमा सामाजिक संजाल लगायत संचारका माध्यमहरुमा विभिन्न किसिमका टिकाटिप्पणी भएकोप्रति यस गाउँपालिकाको ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा हाललाई अध्यक्षस्तरको मिति २०८०/०१/१० गतेको बैठकवाट सो सम्बन्धी कार्यविधि नबनुन्जेल सम्मका लागी निजहरुले स्वकीय सचिव भई लिएको सेवा सुविधा फिर्ता दाखिला गराउने गरी मिति २०८०/०१/११ गतेबाट अवकाश दिने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी यो विज्ञप्ती प्रकाशित गरिएको छ।’
उसो त स्थानीय तहमा प्रेस सल्लाहकार राख्न नपाइने कानुनी व्यवस्था छ। गाउँ तथा नगरसभा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ मा पदाधिकारीका लागि प्रेस सल्लाहकार र कानुनी सल्लाहकार राखेर पारिश्रमिक दिने व्यवस्था छैन। तर, सुर्नया गाउँपालिकाले भने लाजै पचाएर नियमविपरीत सल्लाहकार राखेर तलब खुवाइरहेको थियो।
गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुंवर र उपाध्यक्ष मन्जु महरा बोहराले निजी सल्लाहकारलाई नियम विपरीत तलव सुविधा उपलब्ध गराइरहेका हुन्। गत पुष १० गते गाउँपालिकाको कार्यपालिका बैठकले अध्यक्षका सल्लाहकार बिक्रम कुँवरले ३४ हजार र उपाध्यक्षका सल्लाहकार नरेश महराले ३२ हजार पाउने निर्णय गरेको थियो।
पुषमा अध्यक्ष तथा उपाध्यक्षको स्वकीय नियुक्त भएका उनीहरुले तलब सुविधा खाइसकेका छन्। तर, अहिले चौतर्फी विरोध भएपछि पालिकाले उक्त निर्णय फिर्ता लिएर खाइपाइ आएको तलब पनि फिर्ता गराउने जनाएको छ।