कैलाली: डोटीबाट जितेर मन्त्री भइसकेका बीरबहादुर बलायरले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली रोजेका थिए।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति समेत रहेका उनी जिल्लाको क्षेत्र नम्बर ४ मा विजयी बने।
त्यसयता हराएका उनी यतिबेला गाउँतिर जाने योजना बनाएका छन्।
निर्वाचन जितेपछि सांसद बलायर कैलालीको जुम्ला भनेर चिनिने साबिक गोदावरी, खैराला, चुरे २, ४ र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मा कार्यकर्ता भेटघाट कार्यक्रममा पहिलोपटक जाँदैछन्।
उनले आफ्नो निर्वाचन क्षेत्रको विकट पालिकामा चिर्वाचनताका पनि नपुगेको स्थानमा यसपटक वैशाख ११ देखि १५ गतेसम्म पुग्ने कार्यतालिका बनाएका छन्।
चुरे ४ मा २० वर्षदेखि बन्न नसकेको र मोहन्यालमा अधुरो अवस्थामा रहेको सडकले यस क्षेत्रका जनप्रतिनिधिबाट ठूलो आसा र अपेक्षा गरेको छ।
सबैतिरबाट उपेक्षित चुरे गाउँपालिकाको सबैभन्दा उपेक्षित र विकट साविक खैराला र मोहन्याल क्षेत्रका लागि सांसद बलायरले कार्यकर्ता तथा मतदाता भेटघाट गर्ने योजना बनाएका हुन्।
आफूहरुले जिताएर पठाएका नेताले आफूहरुले वर्षौँदेखि गाउँमा पाउन नसकेको स्वास्थ्य सेवा, उच्च शिक्षा, सडक मार्गलाई राष्ट्रिय स्तरको योजनामा पारिदिनुपर्ने अपेक्षा त्यहाँका जनताले गरेका छन्।
केन्द्रमा पनि कांग्रेस सरकारमा भएको र प्रदेशमा कांग्रेसकै नेतृत्व भएकाले पनि यस क्षेत्रको उपेक्षाबारे उनले सम्बन्धित निकायमा आवाज उठाइदिने अपेक्षा त्यहाँका जनताको छ।
कैलालीको सबैभन्दा विकट गाउँमा रहेको खैराला ऐतिहासिक रुपले महत्वपूर्ण मानिन्छ।
करिब सय वर्ष पुरानो राणाकालीन दरबार भएकाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने र चौमालको झिलबाट छोटो र कम पुल निर्माण गर्नुपर्नेगरी सडकबाटो खैराला जोड्नुपर्ने चुरेका कांग्रेस नेता टीकाराम ढुंगाना बताउँछन्।