सुदूरपश्चिममा ‘लम्पी स्कीन’ को कहर
सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन ।
रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन। पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालक किसानको भनाइ रहेको छ। गाई गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने, नाकबाट सिँगान बग्नेलगायतका लक्षण देखा पर्ने गरेको छ । घाउमा किरा पर्ने र पशुको मृत्यु हुने गरेको छ ।
पशु चिकित्सकका अनुसार सो रोगबाट सङ्क्रमित भएका दुधालु पशुले दूध घटाउँदै लैजाने गर्दछन्। गत वर्ष लम्पी स्कीन रोग कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का व्यावसायिक रुपमा गाईपालनमा लागेका किसानको फार्ममा देखा परेको थियो।
हाल यो रोग व्यापकरुपमा फैलिएको छ। सुदूरपश्चिमका कैलाली कञ्चनपुरदेखि पहाडी र हिमाली जिल्लामा लम्पी स्कीन रोग देखा पर्न थालेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा नरेश जोशीले जानकारी दिए। उनका अनुसार हालसम्म यस रोगबाट प्रदेशका नौवटै जिल्लामा दश हजार बढी पशु सङ्क्रमित भएका छन्। एक सय बढी पशुको यसै रोगका कारण मृत्यु भइसकेको छ।
“रोगको सङ्क्रमण फैलिन नदिनका लागि किसानले सजग हुनु पर्छ”, उनले भने, “रोग देखा परेका गाई गोरुलाई अलग्गै राखी सरसफाई गर्ने र आवश्यकताका आधारमा पशु चिकित्सक वा प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ।”
सरुवा रोग भएकाले अरु पशुमा सङ्क्रमण फैलिन नदिनका लागि पशुपालक किसानलाई रोगबारे जानकारी दिने र निदानका उपायबारे जानकारी दिन आवश्यक रहेको उनले उल्लेख गरे।