काठमाडौं – सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुगेको बताएका छन् । बिहीबार रिपोर्टस् क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा उनले सञ्चारमाध्यममा आएजस्तो श्रीलंकाको अवस्थामा नेपाल नपुगेको बताएका हुन् ।
“मेरो अध्ययनमा अहिले त्यहाँसम्मको स्थितिमा नेपाल होइन । श्रीलंकाले जे समस्या भोगेको छ, कागज किन्न नसकेर परीक्षा नै गर्न नसकेको अवस्था सिर्जना भएको छ । त्यो ठाउँमा नेपाल होइन,” उनले भने । नेपालमा विविध कारणले समस्या भएको र सम्हाल्न सक्ने अवस्थामा रहेको उनले उल्लेख गरे । “अर्थतन्त्र गम्भीर स्थितिमा छ ।
तरलता र अभावको समस्या झेलेको छ । बैंक, निजी क्षेत्र, उद्योगी–व्यवसायीहरूको बारेमा हामीले गम्भीर चर्चा गठबन्धनभित्र पनि गर्याै। यो विषयमा बृहत्तर छलफल आयोजना गरेर एउटा साझा निष्कर्ष निकालेर अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्नुपर्छ भन्नेमा हाम्रो सहमति पनि भएको छ,” प्रचण्ड भन्छन्, “छिट्टै व्यापक विचारविमर्श गरेर अर्थतन्त्रलाई सम्हालेर लैजानेतिर हाम्रो प्रयास जारी छ । ”