डडेल्धुरा: हिजो(आइतबार) सुदूरपश्चिममा छुट्टाछुट्टै ४ वटा घटना भएका छन्। ती सबै घटनामा ४ जनाले मृत्युवरण गरेका छन्।
बैतडीमा एकाबिहानै एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको थियो। जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ डाँगाटोलकी २५ वर्षीया निर्मला लुहारको सर्पले टोकेर मृत्यु भएको हो।
शनिबार राति गोठमा भैंसीलाई घाँस हाल्ने क्रममा लुहारलाई सर्पले टाउकोमा टोकेको थियो। सर्पले टोकेपछि लुहारलाई स्थानीय वैद्यकोमा झारफुकका लागि पुगाइएको थियो। उनको उतै मृत्यु भएको प्रहरी प्रहरीले जनाएको छ।
मृतक लुहारको शव पोष्टमार्टमपछि आइतबार आफन्तको जिम्मा लगाएको छ।
यस्तै बैतडीमै एकजना युवक मृत फेला परेका थिए। जिल्लाको पाटन नगरपालिका- ६ पैरेउडाका ३७ वर्षका मदन पहरी आइतबार अपरान्ह ४ बजेतिर मृत फेला परेका हुन्।
घर नजिकैकैको खेतको डिलमा उनी मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
आइतबार दिउँसै पाटन बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएको थियो। पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको हो।
थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको सुर्नया गाउँपालिकाको बचपानीबाट पाटन ल्याएको गिट्टीमा कपाल र हडीमात्र भएको टाउँको भेटिएको पाटन इलाका प्रहरीले जनाएको छ।
टाउको कुकुरले गिट्टी फालेको सडकबाट १ सय मिटर टाढा पुगाएको थियो। प्रहरीले उक्त टाउको कालो झोलामा हालेर पोस्टमार्टमका लागि लगेको थियो।
यता कञ्चन्पुरको शुक्लाफाँटा नगरपालिकाको एक सामुदायिक वनमा मानव कंकाल फेला परेको थियो। वडा नम्बर ११ स्थित कालिका सामुदायिक वनमा आइतबार मानव कंकाल भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ।
शव सडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए। उनका अनुसार घाँटीभन्दा माथिको भाग डोरीमा झुण्डिएकै अवस्थामा थियो भन्व शरीरका अन्य अंगहरु जंगली जनावरहरुले लुछेर लगेको देखिएको थियो।
बिहान करिब ९ बजे मानव कंकाल भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ईलाका प्रहरी कार्यालय झलारीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ।