-आभूषण तिम्सिना
म २०५६ साल असार ३ गतेबाट जनसेवा गर्ने उत्कृष्ट संस्थाको रुपमा दरिएको नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा नियुक्त भई हालसम्म नेपाल प्रहरीमा कार्यरत छु।
मैले नियुक्तिको प्रमाणपत्र पाउने समयमा म लोकसेवा पास गरेर लोकसेवाको वरीयतामा पहिलो नम्बरमा नाम निकालेर भर्ना हुँदा म मा देशप्रतिको जुन अगाध निष्ठा, जनसेवा गर्ने जुन प्रगाढ भावना थियो त्यसलाई बोकेर नेपाल प्रहरीमा मेरा सहकर्मी साथीहरूसँगै सेवा प्रवेश गरेको थिए। तर, आज २०८० साल वैशाख १७ गतेबाट मैले लगभग २५ वर्ष पुरा हुन ४९ दिन बाँकी रहँदा नेपाल प्रहरी जस्तो जनस्तरसम्म जोडिएको पवित्र संस्थाबाट राजीनामा दिएर अलग्गिने निर्णय गरेको छु।
नेपालको संविधान २०७२ को मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, विभेद, नातावाद, कृपावादको माखेसाङ्लोबाट नेपाल प्रहरीका क्षमतावान, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरू कहिले मुक्त हुने ? कानुनले नचिनेका शक्तिकेन्द्रहरु धाउने क्रम कहिले अन्त्य हुने भन्ने ठुलो प्रश्नको बोझले नेपाल प्रहरीका कर्मचारीहरु कहिले मुक्त हुने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास कहिले सार्थक हुने ?
अन्यायको सिकार भएका यी तिन दिन र रातहरुमा मैले अन्यायलाई चुपचाप सहनु भनेको अन्यायलाई र अन्यायी प्रवृत्तिलाई थप मलजल र जगेर्ना गर्नु हो भन्ने विश्व व्यापक धारणालाई गहिरिएर मनन गरेको छु।
आफ्नै मानव अधिकारको हरण पटक-पटक व्यहोरेका व्यक्तिले आम नागरिकका मानव अधिकारहरूलाई कसरी रक्षा गर्ला भन्ने चिन्ताले म यी ३ रात सुत्न सकिन। चन्द्र शमशेरले राणा कालमै अन्त्य गरेको दासप्रथालाई निरन्तरता दिने पक्षमा म सार्बभौम नेपाली नागरिकको हैसियतमा कदापि छैन।
पदबाट राजीनामा दिएर अलगिएको आजैका मितिबाट म सार्वभौम र कानूनको सम्मान गर्ने पूर्ण नेपाली नागरिकमा रुपान्तरित भएकोमा गौरवान्वित महसुस गरेको छु। म आजैका दिनबाट नेपालको प्रत्यक्ष र समानुपातिक मतदाताको रुपमा दरिने आधारभूत योग्यतालाई पूर्ण विवेकका साथ प्रयोग गर्न पाउने हैसियतमा पुगेको गौरव अनुभूति भइरहेछ।
अन्याय, विभेद, अत्याचार, भेदभाव, थिचोमिचो जस्ता मत्स्य न्यायको सिकार भएका आम नेपाली सर्वसाधारण नागरिकलाई न्याय दिलाउने संवैधानिक उद्देश्य लिएर स्थापना भएको नेपाल प्रहरी जस्तो पवित्र संस्थामा म आफैं अन्यायमा परेको कृत्रिम सुखानुभुति गरेर आफैं अन्यायमा परेको भावनाले पीडित व्यक्तिको रुपमा कसरी नागरिकका हक अधिकारको संरक्षण गर्न सक्छु। र, कसरी देश प्रतिको प्रगाढ आस्थालाई जीवन्त राख्न सक्छ भनेर मैले मेरो जागिरलाई निरन्तरता दिएर आम करदाता नेपाली नागरिकको काँधमा बोझको रुपमा रहिरहनु उचित नलागेर मैले मेरो जवानी लुटाएको संस्थाबाट अलग्गिने निर्णय गरेको छु।
आफू अन्यायको सिकार भएको र आफूप्रति भएको अन्याय चुपचाप सहेर बस्ने अधिकारीले जागिरमा बस्दा आफूमाथि भएको अन्यायको बिलौना मात्रै गरेर बस्ने ?
अन्यायको व्यक्त गर्न नसक्ने तर भित्रभित्रै पिरोलिरहने बोझ र कुण्ठा बोकेर संगठनमा अडेको व्यक्तिको रुपमा आफू समक्ष आउने आम नेपाली नागरिकहरूलाई कसरी न्यायको भरोसा दिलाउन सक्छु भन्ने कुरोको बोध पश्चात् मैले यो संगठनमा रहिरहनु उचित मानिन। मैले यो संगठनमा रहँदा बस्दा मँसँग काम गरेका मेरा सहकर्मी, सहयोद्धा प्रहरी कर्मचारीहरूले मलाई गरेको सहयोग मेरो जीवनमा मार्गदर्शक सिद्धान्तको रुपमा रहिरहनेछन्।
आज मेरो अन्यायको विरुद्ध लडिरहने आदर्श मुल मन्त्र बनाएर मेरो जागिरे जीवनलाई यहिँबाट पूर्णविराम लगाउँदै न्याय दिलाउने संस्था आफ्नै सदस्यहरूलाई न्याय गर्न सक्दैन भने त्यो संस्थाको औचित्य बिस्तारै समाप्त हुदै जानेतर्फ समेत नेपाल प्रहरीका साथीभाई र अग्रजलाई समेत सुझाब दिन चाहन्छु।
मैले जागिरे जीवनमा के कस्ता अन्याय सहनुपर्यो भन्ने कुरा म क्रमशः मेरा आफन्त, साथीभाइ र इष्ट मित्रले पाउने गरी यही सार्वजनिक मञ्चमार्फत राख्नेछु।
यसका साथै नेपाल प्रहरीमा कार्यरत रहँदा मलाई सकारात्मक कार्यको लागि प्रेरणा दिने सम्पूर्ण अमर प्रहरीहरू, संगठनमा कार्यरत हुँदा अशक्त भएका अशक्त प्रहरी कर्मचारीहरू, देशको लागि प्राणको आहुती दिन तयार भएका सम्पूर्ण पूर्व तथा कार्यरत प्रहरी कर्मचारीहरुप्रति हार्दिक नमनका साथ नागरिक समाजका मार्ग दर्शकहरुप्रति कृतज्ञता व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारीको सहज बृत्तिविकास, सकारात्मक कार्य वातावरणको प्राप्ति एवं आगामी दिनमा सफलता र सु-स्वास्थ्यको कामना गर्दछु।