काठमाडौँ- धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमितरूपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्तरूपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ।
आज रेलमा दुवै देशका प्रतिनिधि सवारभएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ रेल आउने छ। भोलिदेखि भने तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए।
उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनका लागि सरकारले दुई सेट ‘डेमो ट्रेन’ ल्याएको थियो।
हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ। कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ। रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ।