दार्चुला – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर म्यादी प्रहरीको भर्ना खुलाईएको छ । हिमाली जिल्ला दार्चुलामा भने भर्ना हुन आउने अधिकांश युवाहरु भारत गएर फर्केका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलामा म्यादी प्रहरी भर्नाका लागि आवेदन दिन आएका यी स्थानीय युवाहरुलाई भारत जान पटक्कै मन छैन । तर देशमा रोजगार नपाएपछि भारतमा गएर पसिना बगाउनुको विकल्प पनि छैन ।म्यादी प्रहरीमा भर्ना हुन आउने अधिकांश युवाहरु भारत गएर फर्किएका छन् । रोजगारको व्यवस्था नहुँदा उनीहरु घरमै बस्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई रोजगारीका लागि सरकारले व्यवस्था नगर्दा भारत बाध्य भएका हुन् ।थोरै जग्गा भएकाले कृषि पेशा अपनाउन पनि सकेका छैनन् । घरमा खाली बस्नु भन्दा केही दिनको कमाईले घर खर्च चलाउन सजिलो हुने भएकाले भर्ना हुन आएको उनीहरुको भनाइ छ ।
३ वर्षसम्म दिल्लीमा पसिना बगाएर आएका यी युवाहरुको अवस्था पनि उस्तै छ । दार्चुलामा ९ स्थानीय तह छन् । त्यहाँ खटाउन ७सय ४२जना म्यादी प्रहरी भर्ना गर्न लागिएको सुचना अधिकारी माधव विश्कर्माले जानकारी दिए । आर्थिक अभावकै कारण प्लस टु पास गरेर पढ्दै गरेका विद्यार्थीहरु पनि म्यादी प्रहरीमा भर्ना हुन आएका छन् । सरकारले रोजगारीको व्यवस्था गर्न नसक्दा पढाई खर्च जोहो गर्नपनि भर्ना हुन आएको उनीहरुको भनाइ छ । भर्नापछि आधारभूत तालिम दिई निर्वाचनमा खटाईने छ । ४० दिन निर्वाचनको काममा खटाईने म्यादी प्रहरीलाई तलव र अन्य सेवा सुविधासहित ४३ हजार ४ सय ४० रुपैयाँ दिईनेछ । सरकारले युवाहरुका लागि विभिन्न स्वरोजगारका कार्यक्रम ल्याएको जनाएपनि त्यसबाट उनीहरु लाभान्वित हुन सकेको देखिएको छैन । तसर्थ सरकारले रोजगार सम्बन्धमा दीर्घकालीन ठोस कार्यक्रम नल्याएसम्म युवाहरुमा विदेश जाने बाध्यता हट्न नसक्ने देखिएको छ । स्वास्थ्य परीक्षण र शारीरिक परीक्षण सेएिपछि आज म्यादी प्रहरीको लेखित परीक्षा भइरहेको छ ।
जिल्लाको सुरक्षा चुनौती, निर्वाचन क्षेत्र, मतदानस्थल, मतदान केन्द्रलगायतका स्थिति र अघिल्लो निर्वाचन सुरक्षा रणनीतिलाई आधार बनाएर जिल्लामा ७सय ४२ जना म्यादी प्रहरी भर्ना लिइनेछ । छनोटमा परेका आवेदकलाई २८ चैतबाट प्रशिक्षण दिएर प्रहरीको सहयोगीका रूपमा मतदानस्थल र केन्द्र तथा आवश्यकताअनुसार गस्तीमा खटाइनेछ । भने १० दिनको तालिम दिइने पनि बताइएको छ ।