काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गृह मन्त्रालयका पूर्व सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।
उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बधुबार नियन्त्रणमा लिएको हो । सचिव पाण्डेलाई पक्राउ गर्न पक्राउ पुर्जी नै जारी गरिएको थियो । आफुमाथि पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरी स्रोत बताउँछ ।
पाण्डे गृहसचिव हुँदा गृहमन्त्रीमा कांग्रेस नेता बालकृष्ण खाँण थिए । खाँणको समूहलाई समेत प्रभावमा पारेर ठगी गर्ने गिरोहले ठगी गरेको प्रहरीको दाबी छ ।
बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
यसअघि सोमबार काठमाडौं प्रहरीले इन्द्रजित राईलाई पक्राउ गरेको थियो । राई पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकारसमेत थिए । सुरक्षा सल्लाहकार हुँदा नै भुटानी शरणार्थीका नाममा नक्कली परिचयपत्र बनाउन शंकास्पद भूमिका देखिएपछि राई पक्राउ परेका हुन् ।
आइतबार पूर्वगृहमन्त्री थापाकै सुरक्षा सल्लाहकार पक्राउ परेलगत्तै थापाको भूमिकामाथिसमेत प्रश्न उठेको छ ।