- राम धामी
डडेल्धुरा – वन विनास र तस्करीका कारण पटक-पटक चर्चामा आउने गरेको डडेल्धुराको भित्रिमधेस क्षेत्रमा हरिया सालका रुखहरु सुकाईन थालिएको छ ।
डिभिजन वन कार्यालय डडेल्धुराले हरिया रुख काटन रोक लगाएपछि काठ तस्करीमा संलग्न ब्यक्तिहरुले हरिया सालका रुखमा रिङ लगाएर सुकाउन थालेका हुन । वन क्षेत्रमा रहेका हरिया सालका रुखको फेदमा रिङ काटेर सुकाउने काम भइरहेको स्थानीय बताउछन । भित्रिमधेस क्षेत्रका अधिकांस सामुदायीक वन र राष्ट्रिय वन क्षेत्रमासमेत हरिया सालका रुखहरु सुकाउन थालिएको स्थानीय अगुवा हरिप्रसाद पनेरुले बताए ।
‘कतिपयस्थानमा रुखको फेदमा रिङ काटेर सुकाईन थालिएको छ भने कतिपय वन क्षेत्रमा सालका हरिया रुखमा बर्माले प्वाल बनाएर हिङ राखेर रुख सुकाउने काम भइरहेको छ ।’ बिभिन्न राजनीतिक दलसँग सम्वद्ध काठका ठेकेदारहरुले मजदुर लगाएर रुख सुकाउने काम गरिरहेको स्थानीय बताउछन । वन विनास कार्यमा संलग्न भएको भन्दै भित्रिमधेस क्षेत्रका एक सय आठ सामुदायीक वनका पदाधिकारीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतको फैसलापछि हाल सर्वोच्च अदालतमा वन विनास सम्बन्धि मुद्दा विचाराधिन छ ।
वन विनास कार्यमा संलग्न कुनै पनि काठका ठेकेदारलाई कारवाही नभएकाले पछिल्लो समय उनीहरुको मनोबल बढ्दै गएको हुँदा वन विनासमा संलग्न हुने गरेको स्थानीयको गुनासो छ । सामुदायीक वन उपभोक्ता समितिका पदाधिकारीलाई प्रभावमा पारेर सामुदायीक वन क्षेत्रमा काठका ठेकेदारहरुले मनोमानी वन विनास गर्न थालेको स्थानीय बिरसिँह क्षेत्रीले बताए । परशुराम नगरपालिका वडा नं. ६ मा रहेका बिभिन्न वन क्षेत्रमा सालका रुख सुकाउन रिङ लगाएको घटनाका सन्दर्भमा स्थलगत अध्ययन गर्न डिभिजन वन कार्यालय डडेल्धुराको टोली घटनास्थल पुगिसकेको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख रामविचारी ठाकुरले बताए ।
घटनाको वास्तविकता अध्ययन गरेर दोषीमाथि कडा कारवाही गरिने डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । हरिया रुख काटन कडाई गरिएकाले सालका रुख सुकाउने काम भइरहेको वनकर्मीहरु बताउछन । वन विनासका कारण बर्षेनी बाढीपहिरोको जोखिम बढ्दै गएको अबस्थामा यथासिघ्र वन विनास रोक्न स्थानीयले माग गरेका छन् ।
चुरे क्षेत्र वन तथा पर्यावरण संरक्षण समन्वय समितिका अध्यक्ष कैलाशकुमार पाण्डेयले भित्रिमधेस क्षेत्रमा वन विनासका कारण प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको बताए । उनले अत्यान्तै सम्वेदनसिल मानिने चुरे पर्वतको काखमा रहेको भित्रिमधेस क्षेत्रमा वन जङ्गल विनासको सिलसिला कायमै रहेमा बस्तीहरुको अश्तित्व संकटमा पर्नसक्ने अबस्था रहेको जानकारी दिए । वन विनाससँगै भित्रिमधेस क्षेत्रमा वन अतिक्रमण समेत बढदै गएको छ । बर्षेनी वन अतिक्रमण बढन थालेकाले अतिक्रमित वन क्षेत्र खाली गराउने पहल भइरहेको जोगबुडास्थित सव डिभिजन वन कार्यालयले जनाएको छ ।
‘योजनावद्ध रुपमा वन विनास र अतिक्रमण रोक्न पहल थालेका छौ,’ सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले भन्नुभयो,‘वन अतिक्रमण गरिएको क्षेत्र खाली गराउनका लागि स्थानीय तह र सबै सरोकारवाला निकायहरुसँग छलफल भइरहेको छ ।’ सामुदायीक वन उपभोक्ता महासंघ परशुराम नगर समितिले भित्रिमधेस क्षेत्रमा भइरहेको वन विनास र अतिक्रमण रोक्न माग गरेको छ । वन तस्करी र फडानीमा संलग्न ब्यक्तिलाई कडा कारवाही हुनुपर्ने महासंघका केन्द्रीय प्रतिनिधी लालबहादुर थापाले बताए ।