काठमाडौं: गत शुक्रबार गृहमन्त्रालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बढुवा सिफारिस ग¥यो। गृहमन्त्रालयका सचिब विनोद सिंहको अध्यक्षमा बसेको बढुवा समितिको बैठकले एसएसपीको प्रतिस्पर्धामा रहेका २५ जना एसपीमध्ये १८ जनालाई बढुवा सिफारिस गरेको थियो।
त्यसको एकसाता अघिमात्रै सोही बढुवा समितिले २९ चैतमा १८ जना एसएसपीबाट १३ जनालाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई बढुवा गरेको थियो।
तर, यी दुबै बढुवा विवादरहित भने हुन सकेन। ब्यवसायिक प्रहरी अधिकारीलाई बढुवा छुटाएर राजनीतिक पहुचका भरमा बढुवा गरिएकोभन्दै प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुवँरको तीव्र आलोचना हुन थालेको छ।
डीआईजी बढुवामा छुटेका एसएसपी चक्रबहादुर सिंह र एसएसपीको बढुवा छुटेका एसपी नान्तिराज गुरुङले सार्वजनिक रुपमै असन्तुष्टी जनाएका छन्।
एसपी गुरुङले आईजीपी कुँवरलाई कार्य सम्पादन विवरणको फारम सार्वजनिक गर्न चुनौती नै दिएका छन्। उनले भनेका छन्, ‘बढुवा भएका व्यक्तिको र मेरो कार्य सम्पादन फारामको विवरण सार्वजनिक गर्न बढुवा समितिलाई चुनौती नै दिन्छु।’
एसएसपी बढुवामा छुटेका अर्का एसपी आभूषण तिमिल्सिनाले त राजीनामा नै दिए। यद्धपी उनको राजीनामा भने स्वीकृत भएको छैन्।
प्रहरी भित्रको आंन्तरिक सरुवा बढुवामानै राजनीतिक हस्तक्षेप रोक्न नसकेको र व्यवासयीक प्रहरी अधिकारीको लागि नेतृत्व आईजीपीले कुवँरले अडानलिन नसक्दा काबिल प्रहरी अफिसरहरु बढुवा सूचीमा अटाउन नसकेका हुन्।
जस कारण आईजी नियुक्त भएको छोटोसमयमै कुँवरको चर्को आलोचना हुन थालेको छ। गुरुङ र आभूषणबाहेक एसएसपी बढुवामा बसन्त रजौरे र रवि पौडेलसमेत बढुवामा छुटे।
आईजीपी नियुक्त हुँदा प्रहरी संगठनको शुद्धिकरण गर्ने दाबी गरेका आईजी कुवँरमाथि पहिलो गासमै ढुंगा लागेको छ।
प्रहरीको सरुवा बढुवामा बिचौलियाहरु हावी हुनथालेका छन्। जुन एसएसपी र डीआईजी बढुवाले पुष्टिनै गरेको केही प्रहरी अधिकारीनै बताउँछन्।
‘यसपालिको बढुवामा कांग्रेस र माओवादीनिकट प्रहरी अधिकारी बढुवा भए। राम्रा र आईजीपी कुवँरले न्याय गर्नुपर्ने प्रहरी अधिकारी छुटे,’ एक अधिकारीले भने।
आन्तरिक सरुवा, बढुवामा प्रहरी प्रमुखले अडान लिन नसक्दा बहालवाला अधिकारीले खुलेर विरोध गर्न थालेका हुन्।
प्रहरी नेतृत्वको कमाण्ड सम्हालेको एक महिनामै आईजीपी कुवँरको कमजोर कमाण्ड क्षमता पुष्टि भएको छ। उसो त कुँवर काविल प्रहरी अधिकारी भने होइनन्। उनीमाथि कमाण्ड क्षमता कमजोर रहेको र आफू मातहतका प्रहरी अधिकारीलाई दुखदिने गरेको आरोप लाग्दै आएको थियो।
एसएसपी बढुवा हुँदासम्म आईजीपीको दौडमै नरहेका कुवँरलाई नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा डीआईजी बढुवा चिठ्ठा परेको हो।
१३ नम्बरको एसएसपी डीआईजी बढुवाहुँदा भने एकाएक १ नम्बरमा पुगेका थिए। जसकारण उनी आईजीपी बने। आईजीपी बन्ने दौडमै नरहेका र कुनै प्लाननै नभएको व्याक्ति संगठनको प्रमुखहुँदा राम्रो काम गर्नै नसक्ने एक पूर्वप्रहरी अधिकारीको भनाइ छ।
पछिल्लो बढुवा प्रकरणले काबिल प्रहरी अफिसरहरुको भविष्य अन्यौलमा पर्ने आशंका प्रहरी संगठनभित्र छ। कुँवर तत्कालिन आईजीपी धीरत प्रताप सिंहले प्रहरी सेवाको ३० वर्षे सेवाहदको कारण ११ चैतमा अवकाश पाएपछि उनी आईजीपी नियुक्त भएका थिए।