दार्चुला – दार्चुला हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो ।
मङ्गलवार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए ।
“पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन”, उनले भने । भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको डीएसपी भट्टले बताए ।
हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन् । सशस्त्र प्रहरी बलको टोलीले मङ्गलवारदेखि बेपत्ताको खोजी गर्दै आएको छ । खोजी कार्यमा हिमपात र वर्षा बाधक बनेको छ ।