काठमाडौं –नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा बुधबार पक्राउ परेका सचिव टेकनारायण पाण्डे २०५१ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । विद्यालय निरीक्षकबाट सरकारी सेवामा प्रवेश गरेका पाण्डे शाखा अधिकृत हुँदै २०६५ सालमा उपसचिव, २०६७ सालमा सहसचिव र २०७६ सालमा सचिव बने ।
पाण्डेले २०५१ सालमा विद्यालय निरीक्षकको रूपमा निजामती सेवामा प्रवेश गरेका हुन् । उनले शाखा अधिकृत, कार्यक्रम संयोजक, योजना अधिकृतका रूपमा प्युठान, गुल्मी, पाल्पालगायतका जिल्लामा काम गरेका छन् । यसैगरी जिल्ला शिक्षा अधिकारीको रूपमा २०६१ देखि २०६५ सम्म जिल्ला शिक्षा कार्यालय दाङ र जुम्लामा सेवा गरे ।
पाण्डे २०६५ सालमा उपसचिव बनेका थिए । उपसचिवको रूपमा २०६५ देखि प्रशासन पुनर्संरचना आयोग, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रमा सेवा गरेका थिए । उनी २०६७ सालमा सहसचिव बने । २०६७ फाल्गुनदेखि सहसचिव/निर्देशकको रूपमा शैक्षिक जनशक्ति विकास केन्द्र र शिक्षा विभागमा काम गरेका छन् ।
पाण्डेले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको परियोजना निर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्रको महानिर्देशक, शिक्षा विकास तथा मानव श्रोत विकास केन्द्रको उपमहानिर्देशक र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको महानिर्देशकको रूपमा पनि कार्य गरेका थिए ।
२०७६ सालमा उनी नेपाल सरकारको सचिव बनेका हुन् । २०७६ भाद्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीमा प्रदेश सचिव र २०७६ फागुनमा कर्णाली प्रदेश सरकारको प्रमुख सचिव बनेका थिए । यसैगरी २०७७ श्रावणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव बनेका पाण्डे २०७८ श्रावण २७ देखि २०७९ असोज २ सम्म गृह सचिवका रूपमा कार्यरत रहेका थिए । पक्राउ पर्दाका बखत उपराष्ट्रपतिको कार्यालयको सचिव थिए ।