दार्चुला: दार्चुलाको हिमपहिरोमा परि ज्यान गुमाएकाहरुको शव अझै सदरमुकाम खलंगा पुगाउन सकिएको छैन।
भारततर्फको सडकमा पहिरो खसेकाले व्याँस गाउँपालिका १ भोलममा हिमपहिरोमा परेर मृत्यु भएकाहरुको शव ल्याउन समस्या भएको हो।
मंगलबार हिमपहिरोमा परेर बेपत्ता भएका ५ जना मध्ये ३ जनाको शव फेला परेको थियो। भारतीय सडकमार्गबाट उनीहरुको शव सदरमुकाम खलंगा ल्याउने भनिएपनि पहिरो खस्दा समस्या भइरहेको छ।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको शव भारतीय सडक मार्ग हुँदै सदरमुकाम ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
सडकमा पहिरो खस्दा शव बोकको गाडी बीचबाटोमै रोकिएको छ। सडक सुचारु भए आज उनीहरुको शव खलंगा पुर्याइने बताइएको छ।
हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको अवस्था अझै पनि अज्ञात छ। उनीहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।
मंगलवार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए। ७ जनाले भागेर ज्यान जोगाएका थिए।