काठमाडौं – महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार एमबीबीएस प्रवेश परीक्षा दिइरहेका पाँच जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
चिकित्सा शिक्षा आयोगले शुक्रबार लिएको प्रवेश परीक्षामा अपरेशन इको सञ्चालन गरी उपत्कास्थित सिसिआरसी, एम्बिसन कलेज, ग्रामर स्कुललगायतका परिक्षण केन्द्रमा नक्कली परिक्षार्थीलाई परिक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिसिआरसीबाट अमर पण्डित, अनिकेत चौधरी पक्राउ परेका हुन् भने ग्रामर स्कुलबाट रामआशिष यादव पक्राउ परेका हुन् । त्यस्तै एम्बिसन केलबाट सन्नीकुमार साह र इस्तियाख अहमद पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये इस्तियाक अहमद प्रवेश परीक्षा दिनकै लागि भारतबाट नेपाल आएको खुलेको छ । उनी महोत्तरीका २३ वर्षीय सन्नी साहको नाममा परीक्षा दिन खोज्दा पक्राउ परेका हुन्् ।
महोत्तरीका अमर पण्डित, सर्लाहीका अनिकेत चौधरी र सप्तरीका राम आशिष यादवले क्रमशः धनुषाका बृकेश यादव, अजिव कुमार यादव र रुपन्देहीका स्मित सिंहको परिक्षा दिन खोज्दा पक्राउ परेका हुन् ।
चौधरी र पण्डित किष्ट मेडिकल कलेजका एमबीबीएस प्रथम वर्षका विद्यार्थी र यादव किष्टकै तेस्रो वर्षका विद्यार्थी हुन् ।
एमबीबीएस पढ्दै गरेका तीन विद्यार्थीहरुले २ लाख १८ लाख रकम लिने शर्तमा परिक्षा दिन लागेको जनाइएको छ । उनीहरुले सक्कली परीक्षार्थीको प्रवेश पत्रमा नक्कली परीक्षार्थीको फोटो टाँसेको खुलेको छ । त्योबाहेक अनुहार मिल्ने व्यक्तिलाई परीक्षा दिन लगाएको पनि खुलेको छ ।