काठमाडौं: आइतबार कांग्रेस महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अब त अत्ति भो भनेका छन्।
उनको स्टाटसलाई धेरैले कांग्रेसबाट मन्त्री छनोटमा असन्तुष्टि जनाएको भनेका छन्। कांग्रेसबाट सभापति शेरबहादुर देउवानिकट ६ जना मन्त्री बन्दा नेता शेखर कोइराला पक्षबाट तीनजना मात्रै मन्त्री बनेका छन्। ती तीनैजना शेखरको सिफारिसमा मन्त्री बनेका हुन्।
गगनको चाहना सहमहामन्त्रीद्वय बद्री पाण्डे तथा जीवन परियार र केन्द्रीय सदस्य प्रदीप पौडेललाई मन्त्री बनाउने रहेको थियो।
आफूसँग यस विषयमा कुनै सल्लाह नभएकोमा आपत्ति जनाउँदै उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्– ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्,’ उनले लेखेका छन्, ‘धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ, तर अब त अति भयो !’
कतिपयले महामन्त्री थापाको असन्तुष्टि मन्त्री छनोटमा मात्रै सीमित नरहेको बरु नक्कली भुटानी शरणार्थी प्रकरणलाई संकेत गरेको दाबी गरेका छन्। गगनको स्टाटसलाई कतिपयले कांग्रेसमा उनले समानान्तर अभ्यास गर्न चाहेको अनुमान गरेका छन् भने कतिपयले त विद्रोह नै गर्न लागेको दाबी गरेका छन्।