काठमाडौं: नेकपा माओवादी केन्द्रका सचिव एवं सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थीको अनुसन्धान फासफुस नहुने बताएका छन् ।
‘हामीकहाँ कुनै पनि अनुसन्धानलाई आवश्यकताभन्दा बढी हल्ला गर्ने र विषयान्तर गर्ने प्रवृत्ति छ । होलसेलमा गर्यो भने भद्रगोल हुन्छ । एउटा काण्डको छानबिन हुँदा हजार विषय हालिदिने हो भने कुनै पनि विषय टुंगोमा लाग्न सक्दैन । हामी रुख भेट्दैनौं, जंगलमा मात्र देख्छौं । नक्कली भुटानी शरणार्थी प्रकरण देखावटी र फासफुस गर्न अनुसन्धान होइन,’ एक कार्यक्रममा उनले भने।
नेता पौडेलले तथ्य र प्रमाण पुगेपछि जो सुकै व्यक्ति छानबिनको दायरामा आउने पनि दाबी गरे । उनले भने, ‘अहिले नै उहाँहरु (आरजु देउवा, बालकृष्ण खाँड) लाई मैले दोषी भन्न मिल्दैन । तर तथ्य भेटिए छाड्ने कुरा कुरा पनि आउँदैन । त्यसरी छाडिए दलहरुप्रतिको विश्वसनीयतामै प्रश्न उठ्छ । हामीले जनतालाई सुशासन प्रत्याभूति कायम गर्न सक्दैनौं । त्यसैले जुनसुकै पक्षको भए पनि तथ्य, सत्य र प्रमाणका आधारमा छानबिन हुन्छ । सरकार त्यसै अनुसार अगाडि बढ्छ ।’