धनगढीः हिमपहिरोमा बेपत्ता भएकामध्ये बझाङ र दार्चुलामा २ जनाको शव फेला परेको छ। बझाङको सुर्मा गाउँपालिका– १ देवडी घर भएकी ३३ वर्षीया झल्नादेवी बोहराको र दार्चुलामा बेपत्ता भएकी डोटी जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो।
यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा वैशाख १९ गते हिमपहिरोमा परेर बेपत्ता भएकी बोहराको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए।
दार्चुलामा फेला परेको शव मंगलबारदेखि बेपत्ता महिलाको हो। त्यसदिन हिम पहिलोमा बेपत्ता भएका पाँचजना मध्ये चार जनाको शव फेला परि सकेको छ भने १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ। उनको खोजी कार्य जारी रहेको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्।
यसअघि दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव फेला परेको थियो। कमला र प्रणीण आमा छोरा हुन्।