जाजरकोट : जाजरकोटबाट अनौठो खबर आएको छ। जिल्लाको कुशे गाउँपालिकामा परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोर्न सहज बनाइदिने भनेर विद्यार्थीबाट पैसा असुल गरिएको छ।
आजबाट सुरु हुने कक्षा १२ को प्राविधिक र सामान्यतर्फबाट विद्यार्थीबाट पैसा असुल गरिएको हो।
लक्ष्मी माध्यमिक विद्यालय परीक्षा केन्द्र र जनता माध्यमिक विद्यालयमा विद्यार्थीबाट पैसा उठाएर केन्द्राध्यक्ष र सुरक्षामा खटिएका प्रहरीलाई पैसा खुवाएर चिट चोराउने भन्दै विद्यालयका लेखापालद्वारा कक्षा १२ को परीक्षा दिने सबै विद्यार्थीबाट पैसा असुल गरिएको छ।
जनता माविका २ सय जना विद्यार्थीबाट प्रवेश पत्र दिँदा प्रति विद्यार्थी एक हजार, थर्पु माविमा ३९ जना विद्यार्थीबाट प्रति विद्यार्थी २ हजार ५ सय र लक्ष्मी प्राप्ती माध्यमिक विद्यालयका १ सय ९५ जना विद्यार्थीबाट प्रति विद्यार्थी एक हजारका दरले रकम असुल गरिएको स्रोतले बताएको छ।
विद्यार्थीबाट प्रवेश शुल्क बापतको उठाएको रकमबाट केन्द्राध्यक्षलाई ५० हजार रकम बुझाउने सर्त राखिएको एक विद्यार्थीले बताए।
थर्पु माध्यामिक विद्यालयका स्टाफ सन्त विकले भने विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार परीक्षा व्यवस्थापनका लागि विद्यार्थीहरुबाट २ हजार ५ सयका दरले रकम उठाएको बताए।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका रेशम मल्लले परीक्षा व्यवस्थित बनाउने भनेर विद्यार्थीबाट रकम उठाएको गुनासो आएको बताउँदै त्यसो नगर्न निर्देशन दिइएको बताएका छन्।
राष्ट्रिय परीक्षा बोर्ड सुर्खेतका प्रमूख कृष्णप्रसाद श्रेष्ठले परीक्षाको समयमा विद्यार्थीबाट पैसा उठाउने विद्यालयलाई आवश्यक कारबाही गर्ने बताए।