धनगढीः बझाङको चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि अवरुद्ध पारिएको राजमार्ग खुलेको छ। पीडित परिवारलाई गाउँपालिकाले ५ लाख क्षतिपूति, ५० हजार क्रिया खर्च र मृतककी श्रीमतीलाई देउलेख स्वास्थ चौकीमा रोजगारी दिने सहमतिपछि जयपृथ्वी राजमार्ग खुलेको हो।
मंगलबार जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सले मोटरसाइकललाई ठोकेको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार देउलेखबाट सुनकुडातर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सुपप्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्सले से ५ च २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको निधन भएको थियो। सोही दुर्घटनापछि आक्रोशित भएका स्थानीयले क्षतिपूर्तिको माग गर्दै हिजो साँझबाटै देउलेकमा राजमार्ग अवरुद्ध पारेका थिए।