धनगढी: बझाङमा प्रहरी अधिकारीहरु कुटिएका छन्। आज (बुधवार) जिल्लाको बित्थडचिर गाउँपालिकास्थित देउलेखमा प्रहरीमाथि कुटपिट भएको हो।
प्रहरीको उच्च स्रोतका अनुसार कुटपिटमा पर्नेमा प्रहरी सहायक हवल्दार नरेन्द्रबहादुर मल्ल लगायतका छन्। उनीहरु वित्थड प्रहरी चौकी र देउलेखमा कार्यरत हुन्। उनीहरुमध्ये मल्ललाई चोट लागेको र अहिले आराम गरिरहेको बताइएको छ। उनले कुटपिटका क्रममा टाउकोमा हेलमेट लगाएका कारण बढी चोट लागेन। दर्जनौं युवाहरुले बीच बजारमा ३/४ जना प्रहरीलाई समातेर कुटेका थिए। प्रहरीले भने त्यहाँ आफ्नो संख्या कम भएका कारण घटना घटेको बताएको छ।
मंगलबार जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सले मोटरसाइकललाई ठोकेपछि मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको निधन भएको थियो। सोही दुर्घटनापछि आक्रोशित भएका स्थानीयले क्षतिपूर्तिको माग गर्दै हिजो साँझबाटै देउलेकमा राजमार्ग अवरुद्ध पारेका थिए। उनै स्थानीय युवाहरुले प्रहरीलाई कुटेका हुन्।
तर पछि पीडित परिवारलाई गाउँपालिकाले ५ लाख क्षतिपूर्ती दिने, ५० हजार क्रिया खर्च र मृतककी श्रीमतीलाई देउलेख स्वास्थ चौकीमा रोजगारी दिने सहमतिपछि जयपृथ्वी राजमार्ग खुलाइएको थियो।