दार्चुला: दार्चुलाको ब्याँस गाउँपालिका १ भोलुममा गएको हिमपहिरोमा बेपत्ता भएका पाँच जनाकै शव भेटिएको छ।
बुधबार डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल नं. ५० गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बेपत्ताहरूको खोजी गरिरहेकामा आज छिमीको शव फेला पारेको हो। यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ।
वैशाख १९ गते गएको हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका थिए। ७ जनाले भागेर ज्यान जोगाएका थिए। उनीहरुलाई सोही दिन प्रहरीले सकुशल उद्धार गरेको थियो। यार्सागुम्बा संकलनका लागि भोलुममा पुगेकाहरुमध्ये ५ जना हिमपहिरोमा बेपत्ता भएका थिए।