धनगढी- कैलालीमा मिटरव्याजी विरुद्ध धमाधम उजुरी दर्ता बढ्दै गएको छ। मिटर ब्याजबाट ठगिएकाहरु धमाधम अनलाइनबाट उजुरी दर्ता गराउन थालेका छन्।
कैलालीमा मिटरब्याजीहरुको जालोले विकराल रूप लिएपछि पीडितहरु उजुरी दिन थालेका छन्। नेपाल सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ गठन गर्दै पीडितहरुलाई निःशुल्क उजुरी दर्ता गर्न आह्वान गरेपछि उजुरी दिने पीडितको संख्या बढ्दै गएको छ।जिल्लामा ५४ मिटर ब्याज पीडितहरुले अनलाइनबाट जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दर्ता गराएका हुन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले उजुरी दर्ताको सात दिन समय थप गरिएको बताए। उनले भने, ‘आयोगबाट म्याद थप भएको छ। स्थानीय तहहरुलाई भनेका छौ। हामीले पनि सूचना सार्वजनिक गरेका छौ।’ जिल्ला प्रशासन कार्यालयले सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म उजुरी दर्ता गर्न सूचना जारी गरेको थियो।
अब पुनः म्याद थप गरी जेठ ७ गतेसम्म कायम गरेको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले सहायता कक्ष नै स्थापना गरेको छ। कैलालीमा मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिमसमेत बढेको छ। साथै, गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठुलो लगानी असुल हुन नसकेपछि यसका लगानीकर्ताको भागाभाग मच्चिन थालेको छ।
मिटर व्याजको कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष जनप्रतिनिधि, प्रहरी प्रशासनमा धाउने क्रम कैलालीमा बढेको छ। जोशीकका अनुसार सबैले अनलाइन उजुरी दर्ता गर्नुपर्ने भएको हो। उनले भने, ‘अनिश्चित लेनदेन भन्ने भएको छ। उहाँहरुले आयोगले तोकेको अनलाइनमा दर्ता गर्नुपर्नेछ। पीडित भएको प्रमाणहरु ल्याउनुपर्ने हुन्छ।’