काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दृष्टिबिन्दु, कार्यशैली र कार्यपद्धतीमा गुणात्मक परिवर्तन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
आइतबार ७७ जिल्लाका प्रजिअ तथा सुरक्षा निकायका प्रमुखहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देश गरेका हुन्। यसलाई अबको कार्यसम्पादन मूल्याङ्कनको आधारको रूपमा लिइने स्पष्ट पार्दै मन्त्री श्रेष्ठले यसलाई सामान्य निर्देशनको रूपमा नलिन आग्रह गरेका छन्।
गरिब र उत्पीडितलाई प्राथमिकतामा राखेर काम गर्न तथा विपद्को पूर्वतयारी, शान्ति सुरक्षा, मिटरब्याज, सीमा सुरक्षालगायतका विषयमा समेत आवश्यक निर्देशन दिए।
भर्चुअल बैठकमा ७७ जिल्लाको तर्फबाट सम्बन्धित प्रदेश राजधानी भएका जिल्लाका प्रमुख अधिकारीले रिपोर्ट प्रस्तुत गरेका थिए। सुरक्षा निकायका प्रमुखहरू, विपद् प्राधिकरणका सिइओ र मन्त्रालयका सचिव दिनेश भट्टराईलेसमेत बैठकलाई सम्बोधन गरेका थिए।