धनगढी – पूर्व राजा ज्ञानेन्द्र शाहले आज राम मन्दिरको अवलोकन तथा दर्शन गरेका छन्।
आज (आइतवार) ज्ञानेन्द्र वीरबिक्रम शाह र पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहले अयोध्यास्थित निर्माणाधीन राम मन्दिरको दर्शन गरेका हुन्।
राम मन्दिर अहिले बन्ने अवस्थामा छ। मन्दिरको निर्माणका क्रममा नेपालको कालीगण्डकीबाट शिलासमेत लगिएको बताइन्छ।
शाहका संवाद सचिव डा. फणिराज पाठकले पूर्व राजाद्वारा भगवान श्री रामको दर्शनबारे जानकारी दिए। पछिल्लो समय शाहले देश तथा विदेशमा धार्मिक क्रियाकलापहरुमा सक्रियता बढाएका छन्। सोही क्रममा आज शाहले भारतको उत्तरप्रदेशस्थित राम मन्दिरको दर्शन गरे।
यस अघि उनले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसंग मुलाकात समेत गरेका थिए। योगी नेपालमा राजसंस्था कायम हुनुपर्छ भन्ने मान्यता राख्ने भारतीय नेता हुन्। पटकपटक पूर्व राजाको भारत भ्रमण र भेटलाई नेपालमा चासोका साथ हेरिन्छ।