काठमाडौँ: आजदेखि मोबाइल आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागु हुने भएको छ। अब नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई यो प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने छ ।
प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन । त्यस्तै आइतबार (वैशाख ३१) सम्प प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो ।
सरकारले गत आर्थिक वर्षको बजेटमार्फत नै २०७८ साउनदेखि यो लागु गर्ने घोषणा गरेको थियो तर सबै उपकरण नआएको कारण देखाउँदै प्राधिकरणले तोकिएको समयमा यसलाई सञ्चालनमा ल्याउन सकेको थिएन । – गोरखापत्र दैनिक