काठमाडौं – नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । मलेशिया, पपुवान्युगिनी र नेपाल सम्मिलित सिरिजको फाइनलमा नेपालले पपुवान्युगिनीलाई ५१ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।
सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले दिएको १६८ रन पछ्याउने क्रममा पपुवान्युगिनी ११८ रन बनाउँदा अलआउट भए पछि नेपालले उपाधि हात पारेको हो ।
नेपालले सिरिजमा अपराजित रहँदै सिरिजमा कब्जा जमाएको हो ।
फाइनल खेलमा दिपेन्द्र सिंह ऐरी र करण केसीको उत्कृष्ट प्रदर्शनले नेपालले जित हात पारेको हो । टस हारेर ब्याटिङ गरेको खेलमा दीपेन्द्रले नटआउट ५४ रन बनाए भने करण केसीले ३३ रन बनाएका थिए ।
नेपालका लागि कुशल भुर्तेलले २५ र आशिफ शेखले २९ रन बनाएका थिए । त्यसबाहेक नेपालका लागि आदिल आलमले १५ रन बनाए भने रोहित पौडेल २ रनमा आउट भए । नेपालका आरिफ शेख र दिलीप नाथ शुन्य रनमा आउट भएका थिए ।
नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।
१६९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको पीएनजीका लागि सेसे बाउ र चाल्र्स अमिनीबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बासले विस्फोटक ५९ रन बनाएका थिए भने अमिनीले १५ रन बनाएका थिए ।
नेपालका लागि दीपेन्द्रले अलराउन्ड प्रदर्शन गर्दै चार ओभरमा ४ विकेट हात पारेका थिए । त्यस्तै करण केसीले ३ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारेका थिए ।