धनगढीः ‘धर्तीको स्वर्ग’ उपमाले चिनिएको सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ । खप्तडलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आध्यात्मिक सम्मेलन हुन लागेको हो ।
सम्मेलन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही जेठ २३ गतेदेखि तीन दिनसम्म हुनेछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको बताइएको छ । सम्मेलनमा स्वामी रामदेवले योगाभ्यास र ध्यान गराउने तथा प्रवचन दिने तय भएको छ ।
आध्यात्मिक सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता, जगतगुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सय जनालाई सहभागी गराउने आयोजक खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले सम्मेलनले अन्तर्राष्ट्रिय स्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको बताए ।
‘मानसखण्डमा खप्तडलाई पृथ्वीलोकको सबैभन्दा सुन्दर र अलौकिक ठाउँ भनेर व्याख्या गरिएको छ । शिव–पार्वतीको बिहे भइसकेपछि पहिलो पटक भेटेको त्रिवेणी धाम पनि खप्तडमा पर्छ । शिवजीले नागको रुप धारण गरेको नाग ढुङ्गाजस्ता धेरै आध्यात्मिक पक्षहरु खप्तडको पहिचानसँग जोडिएका छन्,’ कार्यकारी निर्देशक खड्काले भने, ‘यिनको प्रचारप्रसार गर्न सके पर्यटक भित्र्याउन सकिन्छ ।’
सम्मेलनको तयारीबारे धनगढीमा आयोजित छलफलमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले धार्मिक सम्मेलनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खप्तडको पहिचान बढाउने र खप्तडको पर्यटन विकासले समग्र सुदूरपश्चिमको विकासमा टेवा पुग्ने बताए ।