डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दिन आग्रह गरेको छ। सो सहकारीको जिल्ला शाखाले बचतकर्ताको बचत रकम, सावाँ, ब्याज फिर्ता नगरेको वा ठगी गरेको भए उजुरी दिन आग्रह गरेको हो।
बिहीबार राति प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सो संस्थाका विभिन्न जिल्ला शाखाका बचतकर्ताले बचत रकम फिर्ता नपाएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकाले डडेल्धुरामा पनि त्यस्तो समस्या भए जाहेरी दरखास्त पेश गर्न आग्रह गरेको हो ।
आफ्नो नागरिकता, पासबुक लगायतका प्रमाण सहित जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न सूचनामार्फत अनुरोध गरिएको छ।
यसैबीच भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाको करिब १४ अर्ब निक्षेप हिनामिनामा संस्थाका थप एक सञ्चालक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार सञ्चालक अमिस राजभण्डारीलाई पक्राउ गरेको हो। यसअघि हिनामिनामा संलग्न गीता शर्मा र पुष्कर मल्ललाई सिआइबीले पक्राउ गरिसकेको छ।
गीता र उनका श्रीमान् केदारनाथ शर्माको नेतृत्वमा सहकारीमा हिनामिना भएको प्रहरीले जनाएको छ। सिआइबीको अनुसन्धानमा उनीहरूले मात्र १० अर्ब हिनामिना गरेको भेटिएको छ।