अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरीका लागि प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । प्रहरीले एक सूचना जारी गर्दै सहकारीले ठगी गरेको भए आवश्यक कागजातका साथमा कैलालीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न आग्रह गरेको हो ।
सूचनामा सहकारीले साँवा ब्याज फिर्ता नगरेको लगायतका ठगी गरेको भए जाहेरी दरखास्त पेश गर्ने प्रयोजनार्थ आ–आफ्नो नागरिताको प्रतिलिपी, पासबुक लगायतका प्रमाणहरु साथमा जाहेरी दिन आग्रह गरिएको छ ।
जाहेरी पेश गर्न जारी गरिएको सूचनामा शिबशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालय भक्तपुर भई बिभिन्न जिल्लाहरुमा सेवाकेन्द्र शाखाहरु संचालन रहेकोमा उक्त सहकारी संस्थाका पदाधिकारीहरु र कर्मचारीहरुले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, शिवशिखर अर्गनाईजेसन लगायतका प्राईभेट फर्महरुमा लागनी गरी हिनामिना गरेकोले निजहरू उपर कारवाही गरीपाँउ भनि भक्तपुर जिल्ला भित्रका बिभिन्न शाखाहरुका बचत कर्ताहरुले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोमा दिएको जाहेरीको आधारमा सहकारी ऐन २०७४ बमोजिमको कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भईरहेको उल्लेख गरिएको छ ।