धनगढी: नेपाली कांग्रेस कैलाली जिल्ला उप-सभापति भीम बडूवालले भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न नदिएको भन्दै दुख मानेका छन्।
कैलालीमा सुरु भएको प्रथम जिल्ला सम्मेलनको उद्घाटन सत्रमा आफूलाई मन्तव्य राख्न नदिएको र बन्द सत्रमा पनि आफ्ना एजेन्डा दर्ता नगरेको उप-सभापति बडूवालको आरोप छ।
जिल्ला सभापति नारायणदत्त भट्टले भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको उनले आरोप लगाए । ‘सभापति ज्यूले एकलौटी रुपमा कार्यक्रमलाई लैजानु भयो। बन्द सत्रमा मेरो प्रस्तावलाई दर्ता नै नगर्न भूमिका खेल्नु भयो’ उनले भने।
प्रथम जिल्ला सम्मेलनमा उनले ‘भ्रष्टाचार गर्ने छैन र भ्रष्टाचार गर्नेलाई बचाउने पनि छैन र जिल्ला कार्यसमितिले जिल्ला समिति सदस्यको सम्पत्ति विवरण जिल्ला कार्यसमितिमा बुझाउने छ र त्यसलाई सार्वजनिक गर्ने छ भन्ने’ दुई प्रस्ताव लिएर गएका थिए। तर प्रस्तावलाई स्थान नदिएपछि उनी कार्यक्रम स्थलबाट बाहिरिएका थिए।
उता कांग्रेस सभापति भट्टले उपसभापति बडूवाललाई विधान जानकारी नभएको बताएका छन्। उनले वैशाख २९ गते कार्य सम्पादन बैठक मार्फत एजेन्डा तय भएको जानकारी दिए। उक्त दिन उपसभापति पनि रहेको र आज विरोध गर्नुको औचित्य नरहेको उनले बताए।