धनगढी: नेकपा एमालेका पूर्व उपाध्यक्ष भीमबहादुर रावललाई पार्टी निकाला गरेपछि एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बैठक बोलाएको छ। अस्तिबाट सुरु भएको बैठक कैलालीको धनगढीमा जारी छ।
शुक्रबार सुरु बैठक आइतबारसम्म चल्ने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले जानकारी दिए।
उनका अनुसार माघदेखि एमालेले थाल्ने तीनमहिने अभियानलगायत समसामयिक विषयमा बैठकमा छलफल भइरहेको छ।
यो एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठक हो। बैठकको पहिलो दिन एमाले केन्द्रीय सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि सहभागी थिए।
उता नेकपा एमालेबाट निकालिएपछि गैरकम्युनिष्ट पार्टी खोल्ने तरखरमा रहेको भनिएका सुदूरपश्चिमकै अछाम घर भएका डाक्टर रावल यतिबेला देश दौडाहामा छन्। कोशी प्रदेशबाट ‘मातृभूमि जागरण अभियान’ शुरु गरेका उनी छ महिनापछि दल दर्ता गर्ने योजनामा रहेको बताइएको छ।
यस क्रममा नेतृत्वसँग असन्तुष्ट एमालेलगायत विभिन्न पार्टीका नेता-कार्यकर्ता यताउता हुने देखिएकोले एमालेले कार्यकर्तामा निर्देशन पनि जारी गरेको बताइन्छ।