धनगढी: नवनियुक्त उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले पहिलो दिनमै आफ्नो क्षेत्रअधिकार भित्र परेका कामहरूलाई प्राथमिकताका साथ पुरा गर्ने बाचा गरेका छन्।
उनी हिजो(शनिबार) मात्रै मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वको सरकारमा सहभागी भएका हुन्। माओवादी केन्द्रबाट कैलाली क्षेत्र नम्बर ५ को (१) बाट चुनाव जितेका धामी २०३८ साल कात्तिक २३ गते दार्चुलाको साविकको धापा गाउँ विकास समिति– ३ बाजमा जन्मेको हुन्।
उनले माध्यमिक शिक्षा मालिकार्जुन माध्यमिक विद्यालयबाट पूरा गरेका थिए। उनले २०५४ सालबाट अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीतिमा प्रवेश गरे।
२०५६ सालमा कैलाली बहुमुखी क्याम्पसमा प्रारम्भिक कमिटी हुँदै २०५७ सालमा अनेरास्ववियुबाट सदस्य पदको उम्मेदवार भएका थिए। २०५८ सालमा उनी अनेरास्ववियु छाडेर अखिल क्रान्तिकारीमा समाहित भए।
माओवादी पार्टीमा आवद्ध भएका बेला २०५९ मा स्नातक दोस्रो वर्षको परिक्षा नदिँदै उनी भूमिगत भएका थिए।
त्यसपछी २०६१ सालमा उनी अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष भएका थिए।
त्यसपछि पार्टीको जिल्ला सदस्य हुँदै धनगढी नगरपालिकाको इन्चार्जको भूमिका निर्वाह गर्दै गरेका उनी जनमुक्ति सेनाको फर्मेसनमा आवद्ध भएका थिए। उनले त्योबेला स्पेसल टास्क फोर्समा जिम्मेवारी सम्हालेको थिए।
उनले २०६४ सालमा थारूवान राज्य समितिको सदस्य हुँदै पुन: विद्यार्थीको केन्द्रीय सचिवको भएर काम गरे। हाल उनी नेकपा माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यको काम गर्दै आएका छन्।
उनी २०७४ सालको प्रदेश सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ को २ बाट निर्वाचनमा सहभागी भएका थिए।त्यसबेला उनी नेपाली कांग्रेसका डिल्ली पन्तसँग पराजित भएका थिए।
२०७९ को निर्वाचनमा भने कैलाली क्षेत्र नम्बर ५ को १बाट नेकपा एमालेका नेपाल चौधरीलाई पराजित गर्दै धामी निर्वाचित भएका थिए।